Rule 7
मानपदवीको मण्डन लगाउने तरिका
(१) मानपदवीका प्रतीक समूहमध्ये मण्डन प्रमुख प्रतीक मानिनेछ र सो प्रतीक नलगाई अरू प्रतीक लगाउन सकिने छैन ।
(२) एकभन्दा बढी मानपदवीहरू पाउने व्यक्तिले त्यस्ता मानपदवीहरूका मण्डनहरु एकसाथ लगाउन सक्नेछ । यसरी एकभन्दा बढी मानपदवीहरुका मण्डनहरु लगाउँदा मर्यादाक्रम अनुसार लगाउनु पर्नेछ ।
(३) एकभन्दा बढी मानपदवीहरूका मण्डनहरू एकसाथ लगाउँदा मानपदवीको मर्यादाक्रम अनुसार माथिल्लो मानपदवीको मण्डन अरू मण्डनभन्दा माथि वा दाहिनेतर्फ लगाउनु पर्नेछ ।
(४) नेपाल र विदेशी मुलुकको मानपदवीहरूका मण्डनहरू एकसाथ लगाउँदा नेपालको मानपदवीको मण्डन विदेशी मुलुकको मानपदवीको मण्डनभन्दा माथि वा दाहिनेतर्फ लगाउनु पर्नेछ ।
तर विदेशी मुलुकका राष्ट्राध्यक्ष नेपालको राजकीय वा औपचारिक भ्रमणमा रहेको अवस्थामा आयोजित औपचारिक समारोहमा उपस्थित हुँदा वा कुनै विदेशी मुलुकको औपचारिक भ्रमणमा गएको वा कुनै विदेशी मुलुकको औपचारिक समारोहमा सरिक हुनुपरेको अवस्थामा नेपालको र सो विदेशी मुलुकका मानपदवीका मण्डनहरू एकसाथ लगाउँदा नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।
(५) विदेशी मुलुकबाट पाएका मानपदवीहरूका मण्डनहरू एकसाथ लगाउँदा श्रेणी र पाएको मितिको क्रम अनुसार लगाउनु पर्नेछ । कुनै एउटा विदेशी मुलुकबाट एउटै श्रेणीको दुई वा दुईभन्दा बढी किसिमको मानपदवी पाएको भए मानपदवी लगाउँदा सो मुलुकद्वारा निर्धारित मर्यादाक्रम अनुसार लगाउनु पर्नेछ ।
तर कुनै एउटा विदेशी मुलुकबाट कुनै मानपदवी प्राप्त भएपछि अर्को विदेशी मुलुकबाट सोही श्रेणीको मानपदवी प्राप्त भएपछि पहिले मानपदवी दिने मुलुकले सोही श्रेणीको कुनै अर्को मानपदवी प्रदान गरेमा मर्यादाक्रमका सम्बन्धमा त्यस्ता मुलुकहरूमा जस्तोसुकै व्यवस्था भए पनित्यस्ता मानपदवीहरू पाएको मितिको क्रम अनुसार लगाउनु पर्नेछ ।